साउनको २३ गतेबाट रिलिजमा आएको फिल्म ‘मोहर’ले दोस्रो साताको आइतबारसम्म ३ करोड माथिको कमाई गरेको छ । पहिलो साताको शनिबार भन्दा दोस्रो साताको शनिबार फिल्मको व्यापार अझै माथि रहेको वितरक करण श्रेष्ठ क्रेजीले जानकारी दिएका छन् ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई चुम्बन जंग शाहीले निर्माण गरेका हुन् । फिल्म मेकर्स प्रा.लिको व्यानरमा बनेको यो फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्र विकास बोर्डको आँकडा अनुसार, फिल्मको व्यापार आइतबार बेलुकीसम्म ३ करोड ७ लाख भन्दा माथि छ । फिल्मको निर्माण कम्पनीले भने आँकडा सार्वजनिक गरेको छैन ।
तर, फिल्म अब निर्माताको लगानी सुरक्षित गर्ने दौडमा देखिएको छ । फिल्मका मुख्य कलाकारहरू पल शाह, बेनिशा हमाल र नीति शाहले पश्चिम नेपालको दौड सकाएका छन् । धनगढी, नेपालगञ्ज, दाङ, बुटवल, चितवन र पोखरासम्मको यात्रामा उनीहरुले दर्शकको अथाह प्रेम पाएका छन् ।
फिल्मले पश्चिम नेपालमा निकै सुखद व्यापार गरिरहेको छ । फिल्मले दोस्रो सातामा पनि सुखद कमाई गर्ने पक्का देखिएको छ ।
यो फिल्म चल्दा नायक पल शाह र नायिका नीति शाहलाई बढी फाइदा भएको देखिन्छ । केही फिल्म असफल भएपछि यी दुवै कलाकारहरुको स्टारडम र क्रेजको बारेमा विभिन्न खालका आँकलन भइरहेका थिए । तर, अब ‘मोहर’को व्यापारले दुवैलाई सुखद अनुभुती दिएको छ ।
यता, बेनिशा हमालले फेरि आफ्नो अभिनयका कारण दर्शकको मन जितेकी छिन् । पुराना निर्देशक ओम प्रतिकलाई दर्शकले फेरि विश्वास गरेका छन् । आगामी दिनमा ओमको माग फिल्म निर्देशनमा अझै बढ्नेछ । निर्माता चुम्बन जंग शाही पहिलो फिल्मबाट सफलता हात पार्न सफल भएका छन् । उनले, नयाँ फिल्म ‘ढुकढुकी’ निर्माणको घोषणा गरिसकेका छन् ।