चलचित्र ‘३६ को आँकडा’मा तीन पुस्ताका तीन स्टार नायिकाहरू रेखा थापा, निरुता सिंह र पूजा शर्माले एकसाथ काम गर्ने भएका छन्।  


चलचित्र ‘दुई पल’ प्रदर्शन भएको करिब २ दशकपछि रेखा र निरुताले एकसाथ काम गर्दैछन् । लामो समयको अन्तरालपछि एकसाथ पर्दामा देखिन लागेका यी दुई नायिकाहरु रेखा र निरुता चलचित्रलाई लिएर उत्साहित छन्। 


चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्ने छन्। ‘३६ को आँकडा’बाट पुन: कमब्याक गर्न लागेकी निरुता सिंहको पछिल्लो चलचित्र ‘दाल भात तरकारी’ हो। यो चलचित्र प्रदर्शन भएको केहि वर्षपछि निरुता '३६ को आँकडा’मा अनुबन्धित भएकी हुन्। 


कुनै समय चर्चित नायिकाको रुपमा आफूलाई स्थापित गरेकी नायिकाको निरुताको खुबै क्रेज थियो । सिंगो चलचित्र क्षेत्र धानेकी नायिका हुन्, निरुता सिंह । त्यसपछि नेपाली चलचित्र क्षेत्रमा नायिका रेखा थापाको जन्म भयो । नेपाली चलचित्र क्षेत्रमा आफ्नो दबदबा सधै कायम गरेकी रेखा थापाले आजका दिनसम्म पनि आफ्नो उपस्थिति बलियो बनाइरहेकी छिन् । 


रेखाको क्रेज यस्तो थियो कि त्यो समयमा नायिका रेखाको नाममा नै चलचित्र चल्ने गर्दथ्यो । उनलाई हेर्न मात्र पनि हलमा दर्शकको घुइँचो लाग्थ्यो । उनको चर्चा आजका दिनसम्म पनि उस्तै सुनिन्छ। रेखापछि नायिका पूजा शर्माको उदय भयो । 


पूजाले पनि केही समय चलचित्रहरु आफ्नै काँधमा बोकिन् । नेपाली चलचित्र क्षेत्रमा ‘लेडी टाइगर’को रुपमा चिनिएकी पूजाको ‘३६ को आँकडा’मा बलियो भूमिका रहेको बताइएको छ। 


यीनै तीन नायिकालाई यो चलचित्रमा हेर्न पाइने भएको छ।  चलचित्रमा पुष्प खड्का र महेश  त्रिपाठीको पनि मुख्य भूमिका रहनेछ ।