दुई हिन्दी चलचित्र ‘कुल्ली र वार २’ आजबाट प्रदर्शनमा आएका छन्। यो चलचित्र प्रदर्शन आएपछि शुक्रबारदेखि प्रदर्शनमा आएका दुई नेपाली चलचित्र ‘मोहर र सिटामोल’को शोजमा भारी कटौती भयो । 


हलमा उच्च अकुपेन्सीका साथ प्रदर्शन भइरहेको यो चलचित्रको भारी कटौती ‘मोहर’का कलाकारहरू दुःखी सुनिए । उनीहरुले, उपलब्ध शोजमा गएर चलचित्र हेरिदिन फ्यानहरुलाई आग्रह गरे । 


यता, रिलिजमा आएपछि ‘कुल्ली र वार २’ माथि दर्शक र समीक्षकको आक्रोश पोखिन थालेको छ । भारतीय समीक्षक र दर्शकले मात्र नभएर नेपालका समीक्षक र दर्शकले पनि ‘वार २’लाई  खराब चलचित्र भनेका छन् । चलचित्रलाई अधिकांशले १ र १.५ रेटिङ दिएका छन् । 


आयान मुखर्जीको निर्देशनमा यशराज फिल्मस्ले निर्माण गरेको यो चलचित्रलाई अधिकांशले ‘ठग्स अफ हिन्दुस्तान’सँग दाँजेका छन् । ४ सय करोडको बजेटमा बनेको चलचित्रमा ऋतिक रोशन र जुनियर एनटीआरको अभिनय छ । ऋतिकको अभिनयको प्रशंसा भएपनि जुनियर एनटीआरको कामको पनि आलोचना भइरहेको छ । 


त्यस्तै, लोकेश कंगनराजको निर्देशनमा तयार भएको रजनीकान्त अभिनित ‘कुल्ली’को समीक्षाको हालत पनि झुरै छ । लोकेशको करिअरकै खराब चलचित्रको रुपमा यो चलचित्रलाई चित्रित समेत गरिएको छ । 


‘कुल्ली र वार २’लाई सबैजसो शोज दिँदा हलमा दर्शकको साथ पाइरहेको ‘मोहर र सिटामोल’को शोजमा भारी कटौती भएको थियो । तर, दुई हिन्दी चलचित्रको खराब प्रतिक्रियाले शनिबारबाटै चलचित्र ‘मोहर’को शोज बढाउन थालिएको छ । 


यो चलचित्रका वितरक करण श्रेष्ठ क्रेजीले भने–‘शनिबारबाट नै धेरै हलमा शोज बढिसकेको छ । अझै बढ्ने क्रम जारी छ । आइतबारबाट चलचित्रको व्यापार र शोज दुवै अझै माथि हुने निश्चित छ । ’