अर्जेन्टिना— ब्याक्टेरियाले सङ्क्रमित फेन्टानिल औषधिको प्रयोगका कारण अर्जेन्टिनाका विभिन्न अस्पतालमा कम्तीमा ८७ जनाको ज्यान गएको पुष्टि भएको छ।

गत मे महिनादेखि एक अर्जेन्टिनी अदालतले क्लेबसिएला निमोनिया र राल्स्टोनिया पिकेटी नामक ब्याक्टेरियाबाट सङ्क्रमित फेन्टानिलको प्रयोगबाट बिरामीको मृत्युको कारण खोज्न अनुसन्धान गरिरहेको छ।

अर्जेन्टिनाको औषधि नियामक निकायको उजुरीका आधारमा सुरू गरिएको अनुसन्धानमा बिरामीहरूको अवस्था औषधि प्रयोगपछि झन् गम्भीर बनेको र केहीको मृत्यु समेत भएको उल्लेख गरिएको छ। एक अधिकारीले नाम गोप्य राख्ने शर्तमा समाचार संस्था एएफपीलाई जानकारी दिएका थिए।

अनुसन्धानको नेतृत्व गरिरहेका न्यायाधीश अर्नेस्टो क्रेप्लाक का अनुसार राजधानी ब्यूनस आयर्ससहित अन्य तीन प्रान्तमा मृत्युका घटना पुष्टि भएका छन्।

हालसम्म कम्तीमा २४ जनासँग सोधपुछ गरिएको छ भने अभियुक्तहरूको सम्पत्ति अदालतले जफत गरेको छ। एचएलबी फर्मा र रामालो ल्याबोरेटरीज कम्पनीका मालिक एरियल फुर्फारो गार्सिया लाई औषधिको उत्पादन तथा वितरणमा सावधानी नअपनाएको आरोपमा पक्राउ गरिएको छ।