नायक पल शाह र अर्का कलाकार दीपकराज गिरीको सम्बन्धको विषयमा बेलाबखत चर्चा भइरहन्छ । विशेषगरी, फिल्म ‘पुजार सार्की’ रिलिजको समयमा दीपकले पलको नाम नलिएको भन्दै चर्को आलोचना पनि भयो । पलका फ्यानहरु दीपकको आलोचना गर्न अगाडि सरे । यसले, दीपक र पलको सम्बन्धमा पनि दरार ल्यायो । 


तर, शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘मोहर’को भने दीपकले तारिफ गरेका छन् । उसो त, दीपकको स्टाटसमा पलको नाम उल्लेख छैन । तर, दीपकको स्टाटसले चर्चा पाइरहेको छ । दीपकले लेखेका छन्–‘नेपाली फिल्मको मुख्य समस्या भन्न खोजिएको कथा सललल नबग्नु हो । फिल्म मोहर यो समस्याबाट मुक्त छ । बधाई छ सबैलाई ।’


दीपक नेपाली फिल्म क्षेत्रमा राम्रो पटकथा लेख्ने लेखकको रुपमा समेत अगाडि छन् । उनका फिल्महरूमा पटकथाको चर्चा बढी हुने गरेको छ । यसैले, दीपकले ‘मोहर’को पटकथाको तारिफ गर्दा यसले चर्चा पाएको हो । 


ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई फिल्म मेकर्स प्रा.लिको व्यानरमा चुम्बन जंग शाहीले निर्माण गरेका हुन् । पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, मिथिला शर्मा, रविन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको फिल्मले बलियो वर्ड अफ माउथसँगै व्यापार पनि सुखद गरिरहेको छ ।