चर्चित टिकटकर आभा ढुंगानाले चलचित्रमा डेब्यु गर्ने भएकी छिन्। दिनेश जी खड्काले निर्देशन गर्न लागेको चलचित्र ‘कश्यप’बाट आभाले नेपाली चलचित्रमा डेब्यु गर्न लागेकी हुन् ।
आभा र निर्माणपक्ष बिच सोमबार यो चलचित्रको लागि सम्झौता भएको हो । आभालाई यो चलचित्रको लागि निर्देशक खड्काले स्क्रिन-टेस्ट र अभिनयको परिक्षण गरेर भित्र्याएका हुन् । केही दिनदेखि एक्सनको प्रशिक्षण लिइरहेकी आभा यो चलचित्रमा एक्सन भूमिकामा प्रस्तुत हुनेछिन्।
एक्सन, थ्रिलर तथा लभस्टोरी जनरामा निर्माण हुने यो चलचित्रमा केही महिनाअघि सविन श्रेष्ठ मुख्य भूमिकाको लागि अनुबन्धित भइसकेका छन् । चलचित्रमा उनी एक्सन भूमिकामा प्रस्तुत हुने छन्।
‘कश्यप’मा अनुबन्ध भएपछि उत्साहित हुदै आभाले भनिन्, ‘मा यो चलचित्रबाट डेब्यु गर्न पाउदा खुशी छु। चलचित्रको कथावस्तु, गीत-संगीत र सम्पूर्ण पक्ष उत्कृष्ट बनाउन निर्माण टिमले निकै मिहिनेत गरेको छ । चलचित्रले मनोरञ्जन संगै एउटा राम्रो सन्देश पनि प्रवाह गर्नेछ ।’
यसअघि केही म्यूजिक भिडियोमा समेत काम गरिसकेकी आभा चर्चित टिकटकर हुन्। त्यस्तै, यो चलचित्रबाट बाल कलाकार रिद्धी खत्रीले पनि डेब्यु गर्ने भएकी छन् । रिद्धीले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै अडिसनमार्फत छनोट भएकी हुन्।
अबको केहिदिनमा यो चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्माण पक्ष छ । चलचित्रमा निर्देशक खड्का स्वयंको कथा छ ।