चलचित्र ‘बलिदान’ले ४ मुख्य पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। आफ्नो प्रचार अभियानलाई थप सशक्त बनाउँदै बुधवार सार्वजनिक गरिएको पोस्टरमार्फत अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा, अभिनेता हेमन्त बुढाथोकी र निर्देशक तथा कलाकार सन्तोष सेन प्रस्तुत छन्।
पोस्टर सार्वजनिक गर्दै निर्देशक सेन भन्छन्, ‘यी तस्बिरहरू केवल पोस्टर होइनन्, यी पात्रहरू ती पात्रहरू हुन्, जो हाम्रो समाजका कुनाकाप्चामा लुकेको आवाज हुन्। उनकाअनुसार, टिजर सार्वजनिक हुनु अगावै चलचित्रका केही विशेष पात्रहरूमध्ये कथामा गहिरो प्रभाव छोड्ने यी अनुहारहरूलाई पहिलो पटक दर्शकसामु प्रस्तुत गरिएको हो।
दसैँको फूलपातीमा प्रदर्शन हुने प्रतीक्षित चलचित्रमा फरक र प्रभावशाली भूमिकामा देखिएका कलाकारहरूमध्ये हेमन्त बुढाथोकी सयौँ चलचित्रमा खलनायकको रूपमा आफ्नो गहिरो छवि बनाइसकेका अनुभवी कलाकार हुन्। निर्देशक सेनले हेमन्तको भूमिकाबारे उल्लेख गर्दै भनेका भने,’जसको उपस्थितिले पर्दामा मात्र होइन, कथाको हड्डी नै काँप्छ।’
त्यस्तै, संवेदनशील र गहिरो भूमिकामा आफूलाई साबित गरिसकेका अभिनेता अर्पण थापालाई निर्देशकले यस्तो पात्रका रूपमा प्रस्तुत गरेका छन्, ‘जसको आँखाबाट शब्दहरू बोल्छन् र चरित्रको पीडा, विद्रोह र सत्यता दर्शकले महसुस गर्नेछन्।’
अभिनेत्री ऋचा शर्मा चलचित्रमा एक फरक तरिकाले समाजको प्रतिनिधित्व गर्ने भूमिकामा देखिनेछिन्। निर्देशकका अनुसार, “उनी प्रत्येक संवादमा जीवनको असल मर्म उजागर गर्ने पात्र हुन्।”
साथै, निर्देशक सेन आफैँ पनि चलचित्रको एक प्रभावशाली भूमिकामा प्रस्तुत हुनेछन्। आफूले निभाएको पात्रबारे उनले लेखेका छन्, “एक यस्तो पात्र, जो केवल कथा भित्र सीमित छैन, उसले आफ्नो समाजलाई परिभाषित गरेको छ।”
यसअघि चलचित्रका प्रमुख अभिनेता समीर भट्ट र अभिनेत्री कविता रायको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको छ। त्यस्तै, अभिनेता सौगात मल्लको रहस्यमय अवतार प्रस्तुत गर्ने पोस्टर र समीरको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको प्रि–टिजरले पनि व्यापक चर्चा बटुलेको थियो।’आसुसेन फिल्म्स् प्रा.लि.’को प्रस्तुति रहेको चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन्।