गायक शिव परियारले आफूहरूले गाएको शिव ताण्डव स्तोत्रम् अशुद्ध नभएको प्रस्टीकरण दिएका छन् । हालै सार्वजनिक भएको शिव ताण्डव स्तोत्रम् भजनबारे सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी र आलोचना हुन थालेपछि गायक परियारले मंगलबार सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिएका हुन् ।
उनले आफूहरूले ‘महेश संस्कृत गुरुकुल’ को पुस्तकमा रहेको शिव ताण्डव स्तोत्रम् गाएको जानकारी दिँदै गीता प्रेसमा छापिएको बलिउड कलाकारहरुद्वारा प्रस्तुत गरिएको शिव ताण्डव स्तोत्रम् श्रवण गर्नेले अशुद्ध भनेको जिकिर गरेका छन् ।
‘हामीले गुरुकुल परम्परामा शिव ताण्डव भनेर अध्ययन अध्यापन गराइने महेश संस्कृत गुरुकुलको पुस्तकमा रहेको शिव ताण्डव स्तोत्रम् गाएको हो । गाउनु अगाडि संस्कृत भाषा ब्याकरणविद्देखि भाषा बिज्ञ सबैसँग आवश्यक छलफल गरी संस्कृत भाषाका विद्वान व्यक्तित्वकै उपस्थितिमा रेकर्डिंङ सम्पन्न गरेका हौं । यहाँहरुले सुनिरहनु भएको बलिवउ भर्सन गीता प्रेसबाट लियिएको हो । गीता प्रेसबाट लिएको स्लोक र महेश संस्कृत गुरुकुलको पुस्तकबाट लिइएको स्लोकमा पाठ भेदको कारण शब्द केही फरक अवश्य छ, तर यहाँहरुले नबुझी आरोप लगाएजस्तो अशुद्ध या गलत भने होइन,’ परियारले भनेका छन् ।
‘रावणद्वारा रचना गरिएको शिव ताण्डव विभिन्न ऋषिमुनिहरुले आआफ्नै तपस्या, ध्यान, जप या गुरुकुलीय श्रुति परम्परामार्फत पाउनु भएको हो भन्ने मर्मज्ञहरुको बुझाई छ,्र त्यसै कारण प्रत्येक ऋषिमुनिको ताण्डव ग्रहण शैली फरक फरक छ,’ उनले भनेका छन् । आआफ्नो परम्पराअनुसार ग्रहण गरिएको शिव ताण्डव पाठ भेदका कारण शब्द केही ठाउँमा फरक भए पनि गल्ती नै भयो भन्ने कुरा सत्य नभएको उनले दाबी गरेका छन् ।
परियारले प्रस्तुति शैली, गायन रसमा कमी कमजोरी भए पनि प्राविधिक हिसाबले राम्रो गर्ने भरमग्दुर कोशिस गरेको बताएका छन् । ‘कृपया पूर्वाग्रहका नजरले या भित्री तथ्य नबुझी नबुझी म ज्ञानी हुँ, मैले बुझेको मात्रै सही हो भन्ने भावबाट नकारत्मक प्रतिक्रिया दिन हतार नगरी दिनुहुन अनुरोध गर्दछौं,’ उनले भनेका छन् ।