भदौको १२ गते बिहिबारबाट रिलिजमा आउन लागेको फिल्म ‘कोशेढुंगा’को दोस्रो गीत ‘भंगेरा र भंगेरी’ सार्वजनिक भएको छ । पहिलो गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले सामाजिक संजालमा धुम मच्चाइरहेको समयमा फिल्मको नयाँ रोमान्टिक गीत सार्वजनिक गरिएको हो । 


सार्वजनिक गीतको भिडियोमा नायिका सुरक्षा पन्त र कलाकार मन्जिल कुमारलाई फिचरिङ गरिएको छ । सार्वजनिक गीतमा रिदम कँडेल र वेनिशा पौडेलको स्वर, विदुर तिमिल्सिनाको शब्द, रिदम कँडेलकै संगीत छ । 


नरदेवी फिल्मस् प्रा.लिको ब्यानरसँग सहकार्य गर्दै सारङ्गी फिल्मस्ले निर्माण गरेको यो फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मन्जिल कुमार, सरोज खनाल, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, सविन कट्टेल लगायतका कलाकारहरूको अभिनय छ । 


सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा प्रेविल कँडेल र सुबलमणी सापकोटाको लगानी छ । दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा बाबु श्रेष्ठको डीओपी, नहकुल खड्काको सम्पादन, खेम सेन्चुरी, आशिष अविरल र रिदम कँडेलको संगीत छ । 


यो फिल्मलाई सेभेन सिज इन्टरनेशनलले विश्वका ४० बढी देशमा एकसाथ रिलिज गर्दैछ । ‘पूर्ण बहादुरको सारंगी’ जस्तो ब्लकबस्टर फिल्म निर्देशन गरेका सरोज पौडेलको यो फिल्मले पनि दर्शकको साथ पाउने विश्वास गरिएको छ ।