दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ (राजागंज)फ्रान्सका ६२ वटा हलमा एकसाथ प्रदर्शनमा आएको छ । अन्तर्राष्ट्रिय फिल्मको केन्द्र मानिने फ्रान्समा पहिलो पटक यति ठूलो संख्यामा नेपाली फिल्म प्रदर्शन भएको दाबी निर्माण टिमको छ ।


फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनकी मिसेल हेलबर्स्टडले फिल्म निकै आकर्षक र अप्रत्याशित रहेको बताएकी छन् । ‘पूजा सर एउटा यस्तो फिल्म हो जसले हामीलाई यसको रहस्य, संस्कृति र दृश्यहरूमा सिधै लैजान्छ । यस अर्थमा, यो अप्रत्याशित र आकर्षक छ। हामी फ्रान्सका दर्शकहरूलाई यो फिल्म प्रस्तुत गर्न पाउँदा खुसी छौं,’मिसेलले भेराइटीलाई भनेकी छन् ।


यो फिल्ममा अभिनेत्री आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मण्डल, घनश्याम मिश्रा, रिचा शर्मा, गौमाया गुरूङलगायतको अभिनय छ । निर्माणमा आदि फिल्म्स, बाँसुरी फिल्म्स र नर्वेको ट्यानहाउजरको सहकार्य छ ।


फिल्मको विश्व प्रिमियर २०२४ को भेनिस फिल्म फेस्टिभलमा भएको हो । त्यसयता बुसान, सिड्नी, टालिन बाल्क नाइट्स, गोथेनबर्गलगायतका महोत्सवमा फिल्मले यात्रा गरिसकेको छ । फिल्मले नेदरल्यान्ड्समा ‘फ्री टू बी मी’मा अवार्ड पनि जित्यो । यही फिल्मको प्रदर्शनपश्चात प्रमुख अभिनेत्री आशालाई फ्रिबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सवले मुख्य प्रतिस्पर्धा खण्डको प्रमुख जुरीमा राखेको थियो ।


निर्माण पक्षले दिएको जानकारीअनुसार फिल्मलाई बेलायतको च्यानल फोरले खरिद गरिसकेको छ ।नोभेम्बर २०२५ देखि फिल्म एयरलाइन्समा पनि प्रदर्शन हुने बताइएको छ । अमेरिकी कम्पनी पेनी ब्ल्याक मिडियाले एयरलाइन्सको वितरण सम्हालेको हो ।