यो वर्षकै प्रतीक्षित फिल्म ‘जेरीः अन टप’को तीन वटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म असोजको ३१ गतेबाट रिलिजमा आउने पक्का भएको छ । 


सरोज न्यौपानेको प्रस्तुतिमा तयार भएको फिल्ममा सुयोग गुरुङको निर्देशन छ । फिल्ममा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, उषा खड्गी र केदार घिमिरेको मुख्य भूमिका छ । 


सार्वजनिक पोस्टरमा अनमोल, जसिता र आँचललाई मात्र स्थान दिइएको छ । अनन्या फिल्मस्को व्यानरमा निर्माण भएको यो फिल्ममा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी छ । फिल्मका कार्यकारी निर्मातामा अनिरुद्र गिरी र ईश्वर श्रेष्ठ छन् । फिल्म ‘जेरीः अन टप’को पोस्टरमा अनमोल जसिता र आँचलसँग रोमान्टिक देखिएका छन् । साथमा एक पोस्टरमा अनमोल र जसिता हिमाल चढ्दै गरेको देख्न सकिन्छ । अनमोलको गालामा हिमाल चढ्दा चिसोका कारण हुने घाउ पनि देख्न सकिन्छ । 


विश्वास तिमिल्सिनाको पटकथा रहेको फिल्ममा दिलीप रेग्मीको डीओपी, कालीप्रसाद बास्कोटा, जयन जे वाइवा र जोन चाम्लिङ राई, व्रिजेश श्रेष्ठको संगीत, अभिनाष मान नापितको भीएफएक्स, निमेष श्रेष्ठको सम्पादन छ । 


गतवर्ष फिल्म ‘फर्की फर्की’मा काम गरेपछि अनमोल र जसिताको जोडी चर्चामा छ । यहीकारण, ‘जेरीः अन टप’ पनि दर्शकको पर्खाइमा छ । मेकिङका हिसाबले पनि फिल्म बलियो बनेको दाबी निर्माणपक्षले गर्दै आएको छ । 


‘जेरी’ निर्माण भएको ११ वर्षपछि ‘जेरीः अन टप’ दर्शकमाझ आउन लागेको हो ।