नायिका वर्षा शिवाकोटीले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई प्रश्न गरेकी छिन्। सोमबार आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’ विवादबाट मुक्त हुन सकेन । उसो त, नेपाली फिल्म क्षेत्रमा आयोजना हुने अवार्ड विवादको घेरामा सधै नै पर्ने गर्दछन् । यसपटक, अझै चर्को विवाद राष्ट्रिय पुरस्कारलाई लिएर भएको छ ।
विशेषगरि, नायक प्रदीप खड्कालाई ‘जुरी प्रोत्साहन पुरस्कार’ दिएपछि यसको आलोचना व्यापक रुपमा भइरहेको छ । प्रदीप खड्का जस्ता सुपरस्टार नायकलाई किन प्रोत्साहन पुरस्कार ? यो विधामा खोई त महिलालाई प्रोत्साहन गरेको भन्ने जस्ता प्रश्नहरु उठेका छन् ।
वर्षाले लेखेकी छिन्–‘लौ नायकज्यूहरुलाई मात्र प्रोत्साहन गर्नुहोस्, हामी महिलालाई प्रोत्साहन गर्ने अध्यक्ष कहिले पाउने ?’
वर्षाले महिलालाई प्रोत्साहन किन नगरेको भन्दै अध्यक्ष दिनेश डीसीमाथि नै प्रश्न उठाएकी हुन् ।
उसो त गतवर्ष, राष्ट्रिय अवार्डमा नव–नायिका स्वस्तिमा कार्कीलाई प्रोत्साहन पुरस्कार प्रदान गर्दै गर्दा कसैले उनलाई बधाई पनि दिएनन् । तर, यो वर्ष प्रदीपले यो पुरस्कार पाउँदा महिलालाई खोई त प्रोत्साहन भन्ने प्रश्न उठेको छ ।
एउटा कुरा के हो भने, प्रदीप खड्का जस्ता नायक प्रोत्साहनको भन्दा पनि जुरी अवार्डकै हकदार हुन् । उनको पुरस्कारको अगाडि किन प्रोत्साहन थपियो यो आफैमा उदेकलाग्दो कुरा छ ।