काठमाडौं – गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणका क्रममा सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य व्यक्तिहरू पनि गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्।

गृह मन्त्रालयका अनुसार मन्त्री लेखकले आज गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई सो प्रकरणको छानबिन गर्न निर्देशन दिएका हुन्।

“प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधिमण्डलबाहेक स्पेन को–को गए? कुन प्रक्रिया र कुन संस्थामार्फत स्पेन पुगे भन्नेबारे छानबिन गर्न निर्देशन दिएको छु,” मन्त्री लेखकले भने, “भिजिट भिसाको प्रबन्ध कसले गर्‍यो? त्यसबारे पनि अनुसन्धान हुनेछ।”

गहन अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र मानव बेचबिखन अनुसन्धान ब्युरो खटाइनेछ। मन्त्री लेखकले दोषी पाइएमा कानुनी कारबाही हुने चेतावनीसमेत दिएका छन्।

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणका लागि प्रस्थान गरेका थिए।