काठमाडौं । पीडित नागरिकहरूले १८ दिनको पैदल यात्रा पूरा गरेर राजधानी आइपुगी न्यायको माग गर्दै आन्दोलन गरिरहेका बेला सरकारले देखाएको रवैयाप्रति अभियन्ता दुर्गा प्रसाईंले कडा आपत्ति जनाएका छन्।

प्रसाईंले सामाजिक सञ्जालमार्फत पीडित नागरिकहरू विगत चार दिनदेखि सडकको चिसो भुइँमै बसेर न्यायको माग गरिरहेको उल्लेख गर्दै राष्ट्रिय मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय मानव अधिकार समुदायको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार सरकारले एक दिन वार्ता समिति गठन गर्ने र अर्को दिन वार्ताका लागि बोलाउने तर वार्तामा सहभागी अभियानका प्रतिनिधिहरूलाई सिंहदरबारभित्रै लामो समयसम्म राखेको भन्दै उनले यसलाई ‘दमनको पराकाष्ठा’ भएको टिप्पणी गरेका छन्।

सडकमा न्याय मागिरहेका पीडित नागरिकमाथि दबाब सिर्जना गर्ने तथा सडक खाली गराउने प्रयासले थप पीडा सिर्जना गरेको भन्दै प्रसाईंले सरकारको आलोचना गरेका छन्। प्रसाईंले वार्ताको नाममा धम्की, दबाब र दमनको नीति नअपनाई पीडित नागरिकको आवाज सुनेर समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्।

उनले सिंहदरबारमा रहेका वार्ता टोलीलाई तत्काल फिर्ता पठाई राष्ट्रिय मानव अधिकार आयोगको रोहवरमा अभियानकै नेतृत्वमा प्रधानमन्त्रीस्तरीय वार्ताको वातावरण बनाउन सरकारसँग माग गरेका छन्। प्रसाईंले सरकारलाई चेतावनी दिँदै पीडित नागरिकको भावनासँग नखेल्न र धम्कीको भाषा नभई अभिभावकीय जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्। साथै, आन्दोलनरत अभियन्ताहरूलाई आफूहरूबाट नहट्न आग्रह गर्दै भक्तपुरमा आफू उनीहरूको साथमा रहेको र न्यायका लागि अन्तिमसम्म लड्ने बताएका छन्।

उनले सरकारको दमनकारी रवैयाबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनीसमेत दिएका छन्।