सर्लाही  जनता समाजवादी पार्टी (जसपा), मधेश प्रदेशले प्रदेशसभा सदस्य अशोक यादवमाथि लगाइएको मुद्दा खारेज नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको छ।

शुक्रबार जनकपुरधामस्थित पार्टीको प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जसपाले सांसद यादवमाथि लगाइएको झुठा मुद्दा तत्काल खारेज गर्न र सर्लाहीका प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्कालाई कारबाही गर्न माग गरेको हो।

जसपा मधेश प्रदेश समितिकी उपाध्यक्ष निर्मला यादवले सांसद यादवमाथि गरिएको दुव्र्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै भनिन्, “सर्लाहीका सरकारी कार्यालयहरूमा कर्मचारीको मनपरी, भ्रष्टाचार र प्रहरी प्रशासनको झुठा मुद्दा लगाउने प्रवृत्तिविरुद्ध पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता भयो।”

उनका अनुसार, पूर्वाधार विकास कार्यालयमा राति ताला लगाएर कार्यालय सञ्चालन गरिएको अवस्थामा सेवाग्राही त्रसित भएपछि सांसद यादवले प्रहरी प्रमुखलाई बुझ्न खोज्दा ‘मधेशी हो’ भन्दै अपमानजनक भाषा प्रयोग गरिएको थियो।

यसो भन्दै सांसद यादवले प्रतिकार गर्दा राति १२ बजे प्रहरी परिचालन गरी उनका छोरालाई कुटपिट गरी घाइते बनाइएको आरोप उपाध्यक्ष यादवले लगाइन्।

उनले झुठा मुद्दा खारेज गरी सत्यतथ्य बाहिर ल्याउने छानबिन समिति गठन गर्न र विभेदकारी सोच सच्याउन माग गर्दै चेतावनी दिइन्, “यदि यस्ता व्यवहार नरोके सशक्त आन्दोलनमा जान बाध्य हुन्छौं।”