काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आवश्यक जनसंख्या भए तापनि त्यसको उचित व्यवस्थापन हुन नसकेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा उनले भने, “देशमा पुग्ने जनसंख्या छ तर व्यवस्थापन अझै हुन सकेको छैन। युवाहरु ४० वर्ष कटेपछि रमाउने सोचमा छन् भने महिलाको प्रजनन क्षमता घट्ने हुँदा २० वर्षपछि विवाह गरी सन्तान जन्माउन प्रेरित गर्नुपर्छ।”
उनले थपे, “मान्छेहरु यो कुरा हासोमा उडाउँछन् तर यो गम्भीर विषय हो। प्रजनन क्षमता बढी भएको बेलामा सन्तान जन्माएर हुर्काउनुपर्छ, त्यसपछि ढुक्क भएर काम गर्न पाइन्छ।”
प्रधानमन्त्री ओलीले नेपाली सभ्यताको संरक्षणमा जोड दिँदै भने, “नेपाली सभ्य पुरखाको सन्तान भए पनि अहिले सभ्यता हराउँदै गएको छ। अरुको चरित्र हत्या गर्ने, गालीगलौज गर्ने प्रवृत्ति बढेको छ। जीवनभर राम्रो काम गरे राम्रो भइन्छ, एक दिन नराम्रो काम गरे खराब भइहाल्छ। त्यसैले नराम्रा कामबाट बच्नुपर्छ।”