काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न सरकारले अनुकुल नीतिहरू अवलम्बन गरिरहेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना गरेको पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा उनले भने, “बजेटमा ‘टेक एन्ड पे’ को विषय धेरै चर्चा भयो, त्यसलाई फिर्ता लिइसकिएको छ। नेपालको जलस्रोतको विशाल सम्भावनालाई अधिकतम सदुपयोग गर्दै जलविद्युत विकासमा निजी क्षेत्रको लगानी वृद्धि गर्न अनुकुल नीति ल्याउने छौं।”
उनले उत्पादन भएको विद्युतको उपभोग र वितरणमा ध्यान दिनुपर्ने पनि जोड दिए। साथै, विद्युत् सवारी साधन (इभी) को कर नीतिलाई स्थिर राखेको उल्लेख गर्दै भने, “विद्युतीय सवारीका लागि कर दर स्थिर राखेर विश्वसनीय प्रवद्र्धन गर्ने पक्षमा सरकार छ। यसले लगानीकर्तालाई उत्साहित बनाएको छ।”
त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउनेगरी आउनुपर्ने र बजेट तथा मौद्रिक नीतिको समयन्वय आवश्यक रहेको बताए। उनले बजेट नीति प्रभावकारी बनाउन उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भइसकेको जानकारी दिए।
ढकालले निजी क्षेत्रको सुझावलाई व्यक्तिगत फाइदाको रूपमा लिने सोचले आवश्यक भन्दा बढी कडाइ हुँदा आर्थिक क्षेत्रमा गति नआएको पनि बताए।






































