काठमाडौं, असार २७
बंगलादेशको ढाकामा आजदेखि साफ यु–२० महिला च्याम्पियनसिप सुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल नेपाली समयअनुसार बेलुका ६ः१५ बजे बसुन्धरा किङ्स एरेनामा हुनेछ ।
यो नेपाल र भुटानबीचको दोस्रो भेट हो । दुई वर्षअघि यही प्रतियोगितामा नेपालले भुटानलाई ४–० ले हराएको थियो ।
साफ यू–२० महिला च्याम्पियनसिपमा यसपटक चार राष्ट्र — नेपाल, भुटान, श्रीलंका र आयोजक बंगलादेश सहभागी छन् । पहिलो खेलअघि दिउँसो ३ बजे बंगलादेश र श्रीलंका आमनेसामने हुनेछन् । प्रतियोगिता जुलाई ११ देखि २१ सम्म सञ्चालन हुनेछ ।
नेपाली टिमको कप्तानी बिर्सना चौधरीले सम्हालेकी छन् । टोलीमा लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पन्दाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, सुव्रिया मियाँ, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर रहेका छन् ।