सरोज पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘कोशेढुंगा’को छायांकन सकिएको निर्माणपक्षले बताएको छ । नरदेवी फिल्मस्को प्रस्तुति रहेको यो फिल्मको ‘कोशेढुंगा’को छायांकन सोमबार ५१ दिनमा सकिएको हो । 


मकवानपुरको चित्लाङ, मार्खु लगायतका क्षेत्रमा गीतको छायांकन गरिएको हो । यसअघि फिल्मको छायांकन च्यासलमा सेट लगाएर, स्याङजाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा गरिएको छ । 


यो फिल्म भदौको १२ गतेबाट रिलिजमा आउँदैछ । नेपालसहित विश्वका विभिन्न ४० देशमा एकसाथ यो फिल्म रिलिजमा आउँदैछ । 


यो फिल्मको फस्टलुक सार्वजनिक भइसकेको छ । जहाँ नायिका सुरक्षा पन्तलाई मात्र स्थान दिइएको छ । दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मञ्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायतका कलाकारहरूको अभिनय छ । 


फिल्ममा प्रेविल कँडेल र किशोर अनुरागको लगानी छ । बाबु श्रेष्ठले छायांकन गरेको फिल्ममा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ ।