२ वर्ष अगाडि आफ्नै घरमा आत्महत्या गरेका नायक सारुक ताम्राकारलाई संझिएर नायिका उषा रजकले विलौना गरेकी छिन् ।
सामाजिक संजालमा ८ मिनेट लामो भिडियो पोष्ट गर्दै उषाले सारुकलाई संझिएर आफूलाई पनि मरुँमरुँ लागेको बताएकी छिन् । उषाले भनेकी छिन्–‘आज सारुकको दोस्रो डेथ एनिभर्सरी रहेछ । म आफू पनि दुई तीन हप्तादेखि डिप्रेस्ड समेत छु । म आफूलाई पनि मरुँमरुँ लागिरहेको छ । के गर्ने, उसको बैकुण्ठ बास भइसक्यो होला ।’
उषाले रुदै भनेकी छिन्–‘ऊ साथीमात्रै हुँदा यत्तीको पीडा हुने रहेछ हामीलाई । उसकी आमालाई कस्तो पीडा भयो होला । उसको बुबा पनि बितेर जानुभयो । मैले केही हेल्प गर्न नै सकिनँ, पच्छाताप महशुश भइरहेको छ ।’
उषाले आफूले विपसेना ध्यान गर्ने गरेको, वेद, पुराण सबै वुझेजस्तो लागेको भन्दै सारुकको मृत्युमाथि शंका प्रकट गरेकी छिन् । उषाले अगाडि भनेकी छिन्–‘मैले ध्यान गर्दा कस्तो राम्रो शक्ति आउँछ । ऊ स्वर्गमा, शान्त ठाउँमा छ जस्तो लागेको छ ।’
उषाले आफू यसरी हरेक दिन रुन पनि नसक्ने बताएकी छिन् । उनले, घरको काम गर्नुपर्ने, खाना बनाउनुपर्ने, बच्चा स्कुलबाट आउँछ भन्दै यसरी डिप्रेस्ड भएर बस्दा बच्चालाई पनि असर गर्ने बताएकी छिन् ।
दुई वर्ष अगाडि असारको २२ गते नायक सारुक ताम्राकारले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । यसपछि, उनको निधनमा एक नायिकाको नाम समेत जोडिएको थियो । तर, यो चर्चा यत्तिकै सेलायो । तर, उनको संझनामा उषा भने रोएकी छिन् ।