एजेन्सी — चीनले ३५० किलोमिटर टाढासम्म गोप्य रूपमा उड्ने स्टेल्थ विमान तथा ड्रोनसमेत पत्ता लगाउन सक्ने अत्याधुनिक क्वान्टम रेडार प्रणाली विकास गरेको दाबी गरेको छ।
चङ्तु नजिकैको एक सैन्य अनुसन्धान केन्द्रमा गरिएको परीक्षणमा, चिनियाँ भौतिकशास्त्रीहरूले रेडियो वेभ प्रयोग नगरी नै स्टेल्थ प्रविधियुक्त ड्रोन पत्ता लगाउन सफल भएका हुन्। परीक्षणको क्रममा रेडारले परम्परागत सिग्नल नफ्याँकी, क्वान्टम इन्ट्याङ्गलमेन्ट र गोस्ट इमेजिङ प्रविधिको प्रयोग गरेको बताइएको छ।
क्वान्टम रेडारमा माइक्रोवेभ फोटोनहरूको जालो प्रयोग गरिन्छ, जसले छैटौं इन्द्रियझैं संवेदनशील रूपमा वातावरणमा भएका सूक्ष्म परिवर्तनहरू पत्ता लगाउँछ। सामान्य रेडारले वस्तुमा सिग्नल ठोकाएर फर्किएको संकेतको आधारमा जानकारी दिन्छ भने, क्वान्टम रेडारले त्यस बिना नै सूचनाहरू संकलन गर्न सक्छ।
विशेषगरी स्टेल्थ विमानहरूमा प्रयोग हुने पोलिमर सतहले पारम्परिक रेडार सिग्नललाई छरछराउने वा सोस्ने हुँदा ती सजिलै पत्ता लाग्दैनन्। तर, नयाँ क्वान्टम रेडारले स्टेल्थ पोलिमरले ढाकिएको ड्रोनलाई समेत चिन्हित गर्न सफल भएको हो।
चाइना युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी र रक्षा क्षेत्रको अनुसन्धान प्रयोगशाला मिलेर विकास गरेको यो रेडार प्रणाली लामो दूरीमा र वास्तविक वातावरणमा परीक्षण सफल भएको पहिलोपटक हो।
सैन्य रणनीतिक दृष्टिकोणले हेर्दा, यो प्रविधि कार्यान्वयनमा आएपछि स्टेल्थ युद्धक विमानहरूको प्रभावकारिता कमजोर हुने अनुमान गरिएको छ। किनकि क्वान्टम रेडार सिग्नल स्ट्रेन्थ होइन, इन्ट्याङ्गलमेन्टको आधारमा काम गर्ने भएकाले त्यसलाई जाम गर्न वा छल्न सम्भव छैन।
वर्तमानमा अमेरिका स्टेल्थ प्रविधिमा आधारित लडाकू विमानहरू—जसमा बी–२ स्पिरिट, एफ–२२ र्याप्टर, र एफ–३५ लाइटनिङ–२ जस्ता विमानहरू प्रमुख छन्—प्रति गर्व गर्दै आएको छ। तर, चीनको क्वान्टम रेडार प्रविधिले ती विमानहरूलाई समेत सजिलै पत्ता लगाउने क्षमताको दाबी गर्दै अमेरिका र अन्य प्रतिस्पर्धी देशहरूलाई पनि क्वान्टम प्रविधिमा लगानी बढाउन बाध्य बनाएको छ।
सैन्य विश्लेषकहरूका अनुसार, भविष्यको युद्ध अब क्वान्टम प्रविधिमै आधारित हुने संकेत देखिन थालेको छ।






































