नेपाली भाषा तथा नेपाली संस्कृतिको प्रवर्धन तथा श्रीवृद्धिमा योगदान दिने उद्देश्यले निर्माण गरिएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को निर्माण संस्थालाई नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले एउटा पत्र प्रेसित गर्दै शुभकामना सन्देश पठाएको छ ।
पाठ्यक्रम विकास केन्द्रको समकक्षता तथा मूल्याङ्कन शाखाले यो फिल्मको निर्माण संस्था श्री पद्मा ईश्वर इन्टरटेनमेन्ट, बागबजारलाई ‘शुभकामना सम्बन्धमा’ विषयको पत्र पठाउँदै सफलताको शुभकामना अर्पण गरेको हो ।
पत्रमा भनिएको छ- ‘पद्मा ईश्वर ईन्टरनेट प्रालिद्वारा निर्मित नेपाली चलचित्र विशुद्ध नेपाली भाषा र संस्कृतिमा आधारित चलचित्र हो । यस्ता प्रकृतिका समाजमा सकारात्मक प्रभाव पार्ने चलचित्रहरुलाई राज्यका निकाय लगायत तथा सरोकारवाला समाजिक संघ–संस्थाले संरक्षण सम्वर्द्धन गर्नु पर्ने देखिन्छ ।
भविष्यका कर्णधार आजका बालबालिकाहरूलाई आफ्नो भाषा र संस्कृति प्रति गर्व गर्न तथा नेपाली हुनुमा उच्च सम्मान महसुस गराउने भएकोले विशेषतः विद्यालयस्तरका बालबालिकालाई यो चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई सरोकारवाला निकाइको अनुमति तथा स्वीकृति लिई देखाउनु उपयुक्त हुने देखिन्छ । देश र जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै एउटा सार्थक देशभक्तिपूर्ण चलचित्र निर्माण गर्नु भएकोमा निर्माण टिमलाइ विशेष धन्यवाद दिन ज्ञापन गर्छु ।’