आगामी भदौ ६ मा नेपालसँगै विदेशमा प्रदर्शन हुने तयारी भइरहेको चलचित्र ‘माग्ने राजा’को तिजारा सार्वजनिक गरिएको छ। केदार घिमिरेलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको टिजर रमाइला संवादले भरिएको छ ।


केदार घिमिरेका भिन्न स्वरुप देखिने सिनेमामा विल्सन विक्रम राई केदार घिमिरेको भान्जा बनेको देख्न सकिन्छ । विल्सन र केदार घिमिरेको जोडी टेलिभिजनको पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडीको रुपमा परिचित छ । पौने दुई मिनेट लामो टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाएका छन् । टिजरले दुवैको भूमिकाको बारेमा भने उति धेरै खुलाएको छैन ।


केदार घिमिरेलाई पोस्टरमार्फत् नै भिन्न स्वरुपमा प्रस्तुत गरेर चर्चा कमाएको निर्माण टिमले टिजरमा पनि माग्नेलाई नयाँ स्वरुपमा प्रस्तुत गरेको छ । ‘माग्ने राजा’मा केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका हुन् ।


आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको सिनेमालाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।


सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ । सिनेमाको टिजर साहिल खानले तयार गरेका हुन् । सिनेमालाई आरआर फिल्मले वितरण गर्दैछ ।