आगामी भदौको २७ गतेबाट रिलिजमा आउँने फिल्म ‘यो मन त मेरो नेपाली हो’ को आज ट्रेलर सार्वजनिक गरिएको छ । मित्र प्रधानको निर्देशनमा तयार भएको यो फिल्मले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्वलाई देखाउने छ।
सार्वजनिक यो फिल्मको ट्रेलरमा नेपाली भाषा र संस्कृति जोगाउनका लागि नेपालीहरूले गरेको संघर्षको कथालाई देखाइएको छ । निर्देशक प्रधानले नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुलाई देखाएको बताए ।
पद्यमा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको यो फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, वुद्दि तामाङ, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्ममा ज्ञान बहादुर प्रधानको लगानी छ । शिवम् अधिकारीको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, देव महर्जनको एक्सन, समीर मियाको भीएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्याङ राइको संगीत रहेको यो फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।