‘कमेडी नाइट्स विथ च्याम्पियन’को पछिल्लो श्रृङ्खलामा पूर्व राजा ज्ञानेन्द्र शाहको भूमिकामा काम गर्दा आफूलाई धम्की आएको भन्दै कलाकार प्रभात लामाले सामाजिक संजालमा स्टाटस लेखेका छन् ।
उनले लेखेका छन्–‘म हालको गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीको पनि गलत कार्यको व्यङ्ग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु । पूर्व राजाको क्यारिकेचर गर्दा के गलत भयो ? तपाइको राजा नआउँदै यस्तो रवाफ देखाउनुहुन्छ भने साँच्चै राजा आएको दिन के गर्नुहुन्छ ? मलाई मेरो काम गर्न दिनुहोस्, तपाइको राजा ल्याउँदै गर्नुहोस् ।’
उनले, हास्य-व्यङ्ग्यमा कलाकारहरूले कसैको क्यारिकेचर गर्दैमा कसैको मान मर्दन नहुने पनि प्रभातको भनाई छ ।
उनले अगाडि लेखेका छन्–‘व्यक्तिगत रुपमा उमेरको हिसाबले हेर्ने हो भने पनि पूर्व राजा मेरो हजुरबुबा समान हुनुहुन्छ । उहाँलाई गर्नुपर्ने सम्मान र आदर उस्तै छ । मलाई राम्ररी थाहा छ कि पूर्व राजार्लाइ कुन सम्मान दिनुपर्ने हो भनेर । व्यक्तिगत रुपमा उहाँलाई उत्तिकै आदरभाव व्यक्त गर्न सक्छु जति उहाँ सम्मानित र आदरणीय हुनुहुन्छ । त्यसैले मलाई कुनै पनि शैलीको धाक धम्कीको भाषा प्रयोग नगरी दिनुहोला । कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र तयार पारिएको हो ।’