साउनको अन्तिम साताबाट छायांकनमा जान लागेको फिल्म ‘राम नाम सत्य’को पि–प्रोडक्सनको काम हाल धमाधम चलिरहेको छ ।
फिल्मका लागि कलाकारहरु फाइनल गर्ने क्रम पनि चलिरहेको छ । फिल्ममा नायकद्धय विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी र सुपुष्पा भट्ट फाइनल भइसकेका छन् ।
अब, फिल्ममा कलाकार सुनिल थापालाई पनि अनुवन्धित गरिएको छ । निर्देशक माइकल चन्दका अनुसार, सुनिललाई यसपटक विल्कुलै फरक गेटअपमा देखाउने तयारी गरिएको छ । माइकलले भने–‘सुनिल दाइलाई दर्शकले यसअघि यस्तो अवतारमा देख्नु भएको थिएन । हामी, उहाँलाई विल्कुलै फरक अवतारमा देखाउँदैछौ । जुन अवतारले दर्शकलाई पनि सरप्राइज दिन्छ ।’
फिल्मलाई लभस्टोरी, एक्सन, रोमान्स, सस्पेन्स शैलीमा बनाउने तयारी माइकलको छ । नायक सुशिल श्रेष्ठ ‘परिवर्तन’ नामक फिल्मको सेटबाट फर्किएसँगै वर्कशप सुरु हुने निर्देशक चन्दले बताए ।
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली, उत्तम गुरुङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता डाक्टर डीआर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । फिल्ममा महेश पौडेलको डीओपी रहनेछ । फिल्मका साउथका कलाकार तथा एक्सन निर्देशकसँग पनि सहकार्य गर्ने तयारी गरिएको छ ।