चलचित्र ‘जारी २’को छायांकन सकिएको छ । गत बैशाख ३० गतेबाट छायांकन सुरु गरिएको यो चलचित्रको ३६ दिनमा सम्पूर्ण छायांकन सकिएको हो।  

बाँसुरी फिल्मसको ब्यानरमा निर्माण गरिएको यो चलचित्रको छायांकन पूर्वी पहाडी जिल्ला पाँचथर क्षेत्रमा गरिएको हो । यो चलचित्रलाई दशैंमा रिलिज गर्ने योजना निर्माणपक्षको छ । तर, चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । यद्यपि, फूलपातीमा यो चलचित्र प्रदर्शन गरिने चर्चा भने चलेको छ । 

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको तेश्रो चलचित्रमा ‘जारी’कै जोडी दयाहाङ राई र मिरूना मगरका साथ ऋचा शर्मा, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, अनिल सुब्बालगायतको पनि अभिनय रहेको छ ।

यो चलचित्रको कथा लिम्बू समुदायको परम्परागत लोकबाजा च्याब्रुङमा आधारित छ । यो चलचित्रमा निर्देशक रामबाबु गुरुङ निर्माताका रुपमा जोडीएका छन् ।

‘जारी’ २०८० सालमा सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको थियो । जारी प्रथा (महिलाले अर्को बिहे गरेमा निश्चित रकम तिरेर छुटिनुपर्ने सामाजिक नियम)मा आधारित भएर बनेको यो चलचित्रले बक्स अफिसमा १७ करोड १७ लाखमाथिको व्यापार गरेको थियो ।