काठमाडौं — सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध अन्त्य गर्न रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका छन्।
अर्यालसँगको भेटमा सभामुख घिमिरेले संविधानअनुसार संसद्मा बजेटमाथिको छलफल सुरु गर्नु अपरिहार्य रहेको बताएका थिए। उनले संसद्को अवरोधको स्वरूप परिवर्तन गर्न आग्रह गर्दै सदन मर्यादित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।
जवाफमा अर्यालले संसद्मा जारी अवरोध कायमै रहने स्पष्ट पार्दै पनि संसदीय मर्यादा पालन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।
यसैबीच, गत शुक्रबार संसद् बैठकमा अवरोधका क्रममा भएको अमर्यादित गतिविधिबारे प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए।
सभामुख घिमिरेले राप्रपा अध्यक्ष लिङ्देनसँग पनि टेलिफोन संवाद गर्दै संविधानको बाध्यता बुझेर संसद् अवरोध अन्त्य गर्न सहयोग गर्न आग्रह गरेका छन्। उनले संसद्मा उठाउनुपर्ने विषयहरू उठाउँदै सदन सञ्चालनमा सहकार्य गर्न अनुरोध गरेका हुन्।