परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘महाराजधिराज’बाट नायक पल शाह र टिमविचको संझौता अन्त्य भएको छ । पलले केही महिना अगाडि छत्रेश्वरी म्यानेजमेन्टसँग फिल्म ‘महाराजधिराज’का लागि संझौता गरेका थिए ।

तर, आजबाट सहमतीमै संझौता अन्त्य गरिएको पलले उल्लेख गरेका छन् । पलले आफ्नै व्यानरमा निर्माण हुन लागेको फिल्म ‘यानीमाया’लाई मुख्यकारण बताएका छन् ।

असारको पहिलो साताबाट करिब २ महिनाको सेड्यूलमा छायांकनमा जान लागेको ‘महाराजधिराज’ र साउनको पहिलो साताबाट छायांकनमा जान लागेको आफ्नो फिल्म ‘यानीमाया’को सेड्यूल जुधेपछि फिल्म छाड्नुपरेको पलले उल्लेख गरेका छन् । 

यता, छत्रेश्वरी म्यानेजमेन्टले जारी गरेको विज्ञप्तीमा पनि पलसँग सहमतीमै संझौताबाट अलग भएको उल्लेख गरेको छ । विज्ञप्तीमा आजका मितिबाट यो विषयमा कसैले पनि नबोल्ने, तेस्रो पक्षबाट आउने विभिन्न प्रश्नको जवाफ दुवै पक्षले नदिने उल्लेख गरिएको छ । 

श्रोतले दिएको जानकारी अनुसार, अब यो फिल्म दशैंमा रिलिज हुने संभावना पनि टरेको छ । फिल्ममा रमेश उप्रेती, आर्यन सिग्देल, वर्षा राउत, वर्षा सिवाकोटी, पुष्प खड्का, जयकिशन वस्नेत लगायतका कलाकारहरु फाइनल भइसकेका छन् । यो फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन् ।