काठमाडौं — परराष्ट्रमन्त्री आरजु राणा देउवाले पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको स्वीकार गरेकी छिन्। मन्त्री राणाका अनुसार, जयवीर देउवाको उजुरीका आधारमा पत्रकार पाठकमाथि पक्राउ पूर्जी जारी गरिएको हो। यसबारे पहिलो पटक उनले औपचारिक जानकारी सार्वजनिक गरेकी हुन्।
यसअघि पत्रकार पाठक विरुद्ध पक्राउ पूर्जी जारी भएको खबर आए पनि न त स्वयं पाठक, न त मन्त्री राणा, न त साइबर ब्युरोले यसबारे स्पष्ट रूपमा कुनै जानकारी दिएका थिए। तर, नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएको विषयमा समाचार प्रकाशित भएपछि मन्त्री राणाले लामो स्पष्टीकरण जारी गरेकी हुन्। उनले ज्ञवालीलाई धम्की नदिएको दाबी गरेकी छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा उनले भनिन्:
“नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँगको टेलिफोन संवादलाई धम्कीको रूपमा चित्रण गर्दै नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर म छक्क परेकी छु।”
उनका अनुसार, एक भ्रामक र तथ्यहीन भिडियोबारे न्यायिक निरूपणका लागि भएको संवादलाई गलत ढंगले प्रस्तुत गरिएको हो। उनले स्पष्ट पारिन् कि सो भिडियो प्रसारण गर्ने संस्था सरकारी निकायमा दर्ता नभएको थाहा पाएपछि प्रेस काउन्सिलमार्फत प्रक्रिया अघि बढाउन नसकिने भएकोले कानुनी बाटो रोजिएको हो।
राणाले भनिन्:
“उक्त भ्रामक भिडियो पोस्ट गर्ने व्यक्तिविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानुनले जुन सजायँ दिन्छ, त्यसलाई हामीले पनि स्वीकार गर्ने हो। यसबारेमा मैले मात्र निर्देशक ज्ञवालीलाई जानकारी गराएको थिएँ।”
साथै, उनले नेपाल रिपब्लिक मिडियासँग सहकार्यमा रहेको अन्तर्राष्ट्रिय मिडिया संस्थाले पनि सोही भ्रामक भिडियोलाई स्रोत मानेर समाचार प्रकाशित गरेकोमा आपत्ति जनाउँदै साँचो तथ्य बुझेर मात्रै समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिएको बताइन्।
उनले थपिन्:
“हामीबीचको संवादलाई तोडमोड गरी समाचार प्रकाशित गरिएको देख्दा दुःख लागेको छ। प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यप्रति म पूर्ण प्रतिबद्ध छु तर मिडियाले जिम्मेवारी र विश्वसनीयता कायम राख्नुपर्छ भन्ने मेरो धारणा हो।”
मन्त्री राणाले प्रेस तथा नागरिक अधिकारप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै कुनै पनि व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र प्रतिष्ठाप्रति मिडिया पनि संवेदनशील हुनुपर्ने उल्लेख गरेकी छन्।