काठमाडौं  - देशभरका स्थानीय तह आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा सक्रिय रहेका बेला संघीय राजधानी काठमाडौं महानगरपालिकामा भने गम्भीर प्रशासनिक संकट देखिएको छ। अन्य स्थानीय तहहरूले बजेट तर्जुमा सुरु गरिसकेका छन्, तर काठमाडौं महानगरमा अहिलेसम्म बजेटसम्बन्धी छलफल समेत सुरु भएको छैन।


प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र मेयर बालेन्द्र साह (बालेन)बीचको विवादका कारण महानगरमा पछिल्ला ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन। यसैबीच नगरसभा बैठकसमेत नबसेको हुँदा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटसम्बन्धी अनिश्चितता थपिएको छ।


कानूनी व्यवस्था विपरीत निरन्तर बेवास्ता

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कार्यपालिका बैठक कम्तीमा महिनामा एक पटक बस्नुपर्ने प्रावधान छ। तर, काठमाडौं महानगरमा पछिल्लो कार्यपालिका बैठक ०८१ पुस ८ गते बसेको थियो। पुसपछि नगरसभा पनि बस्न सकेको छैन।


यदि बजेट समयमै प्रस्तुत हुन सकेन भने, साउन १ गतेदेखि महानगरको सबै आर्थिक क्रियाकलाप ठप्प हुने खतरा देखिएको छ।


गुरागाईं विवाद: बैठक अवरोधको मुख्य कारण

विवादको मूलमा मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीचको मतभेद छ। काठमाडौं भ्युटावर निर्माणको सन्दर्भमा नक्सा स्वीकृतिमा अनियमितता भएको आरोप लगाउँदै बालेनले गुरागाईंलाई बिदामा पठाएका थिए। छानबिन नसकिँदै उनलाई हटाउन मन्त्रालयमा पत्र लेखिएको थियो, तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई पुनः जिम्मेवारीमा फर्काएको थियो।


त्यसपछि मेयर बालेनले गुरागाईंलाई कार्यालय छिर्न नदिने अडान लिँदै कार्यकक्षमा ताला लगाउनेदेखि नगर प्रहरी खटाउनेसम्मका कदम चालेका थिए। अन्ततः उपमेयर डंगोलसहितका जनप्रतिनिधिको रोहबरमा गुरागाईं कार्यकक्षमा प्रवेश गरेका थिए।


गुरागाईंले त्यसको प्रतिक्रियास्वरूप नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेलाई निलम्बन गरिसकेका छन्। तर, मेयर बालेन गुरागाईंलाई अझै प्रमुख प्रशासकीय अधिकृतको रूपमा स्वीकार गर्न तयार छैनन्।


कार्यपालिका बैठक नबसेकोप्रति वडाध्यक्षहरूको असन्तुष्टि

वडा अध्यक्षहरू र उपमेयर डंगोल कार्यपालिका बैठकका लागि बारम्बार माग गर्दै आएका छन्। जेठ १२ गते कार्यपालिका सदस्यहरूले मेयरलाई सात दिनभित्र बैठक बोलाउन आग्रह गरेका थिए, तर त्यसको कुनै प्रतिक्रिया आएको छैन। वडाध्यक्षहरूले विकास निर्माण कार्य अवरुद्ध भएको गुनासो गरिरहेका छन्।


वडा ८ का वडाध्यक्ष आशामान संगत भन्छन्, "हामीले पटक–पटक आग्रह गरिसक्यौं, तर बैठकको कुनै सुरसार छैन। यदि यही अवस्था रह्यो भने कानुनी उपायमा जानुपर्छ।"


वडा २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले भने, “बजेट निर्माणको महत्त्वपूर्ण समय खेर गइरहेको छ। आर्थिक गतिविधि नै बन्द हुने खतरा छ।”


महानगर प्रशासन: ‘छिट्टै बैठक बस्छ’

महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले केही ढिलाइ भए पनि कार्यपालिका बैठक चाँडै बस्ने दाबी गरेका छन्। उनका अनुसार, "बजेट ल्याउन कार्यपालिका बैठक आवश्यक छ, र त्यसका लागि केही दिनमै बैठक आयोजना गरिनेछ।"