अन्ततः नवजोत सिंह सिद्धु कपिल शर्माको शोमा फर्किएका छन् । उनी नेटफ्लिक्सको ‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजनमा देखिने भएका छन्, जसको प्रोमो पनि सार्वजनिक भएको छ ।
विशेष कुरा के छ भने उनले अर्चना पूरण सिंहको कुर्सी खोसेनन्, बरू उनको छेउमा कुर्सी लगाएर बसे । यसको मतलब कपिलको शोमा पहिलो पटक एक होइन, दुई दुई जना जज रहने भएका छन् ।
द ग्रेट इन्डियन कपिल शोको प्रोमोमा कपिल शर्माले जज अर्चना पूरन सिंहको आँखामा पट्टी बाँधेर उनलाई कतै लगेर ठूलो सरप्राइज पाउन लागेको देखाइएको छ । उनी कार, घर वा अरु केही लिने हो कि भनेर अनुमान गर्छिन् तर कपिलले आँखाको पट्टी हटाएर नवजोत सिंह सिद्धुलाई आफ्नो अगाडि देखे पछि उनलाई चक्कर लाग्न थाल्छ।
यसपछि कपिलले आफ्नो शोमा पहिलो पटक दुईजना जज देखिने बताएका छन् । अब अर्चनासँगै नवजोत पनि शोमा फेरि खटक खटक बोल्दै देखिने भएका छन् । नवजोतले सेटका केही तस्बिर पनि सेयर गरेका छन्, जुन सुटिङका तस्विर हुन् ।
यी तस्विरमा सलमान खान पनि देखिएका छन् । उनीसँगै सुनिल ग्रोवर र कृष्णा अभिषेक पनि छन् । दुबै सलमान र शाहरुखको अवतारमा छन्, जुन निकै चर्चित रहेको छ ।
शोको पहिलो एपिसोड सलमान खानबाट सुरु हुने बताइएको छ । दोस्रो शृङ्खलामा ‘मेट्रो इन दिन’ का कलाकारहरू देख्न सकिन्छ। यो शो जुन २१ मा राति ८ बजे प्रशारण हुनेछ ।