गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत 'दुःख सुनाएर के काम' सार्वजनिक गरिएको छ। डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गीतमा दीपक शर्माको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ।
मानिसको जीवनमा सुखका मात्र होइन, दुःखका पलहरू पनि आउँछन्। त्यस्तो बेला धेरैजसो मानिसहरू सम्हालिन सक्दैनन् र आफ्नो दुःख, पीडा, दर्द, भोक, रोग, शोक, गरिबी र कठिनाइ अरूलाई सुनाउँछन्।
गीत, कविता तथा समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका गीतकार नारायण खतिवडा हाल सरकारी सेवामा कार्यरत छन्। सामाजिक परिवेश, घटनाक्रम, वर्तमान परिस्थिति, संयोगान्त र वियोगान्त विषयवस्तुका साथै राष्ट्र र राष्ट्रियताको पक्षलाई कलात्मक र सन्देशमूलक रूपमा साहित्यमा उतार्ने सशक्त स्रष्टा खतिवडाको पछिल्लो सिर्जना "दुःख सुनाएर के काम?" गीत सामाजिक सन्देश र मानवीय पक्ष बोकेर आएको छ।
चर्चित संगीतकार दीपक शर्माको संगीत र सुमधुर स्वरका धनी स्वरूपराज आचार्यको स्वरले यस गीतलाई झनै मार्मिक र हृदयस्पर्शी बनाएको छ।