मुइन इन्टरटेन्मेन्टले निर्माण गरेको जेठको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जन्ते बाख्रो’को प्रचारमा यसको निर्माणपक्षले फरक शैली अपनाएको छ । काठमाडौंको सिटी स्क्वायर मलको प्राङ्गणमा फिल्मको टिमले ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा नायिका गरिमा शर्मालाई दुलहीको भेषमा बग्गीमा राखेर सामाखुशीस्थित बिजी मलबाट ‘जन्ते बाख्रो’ अंकित टिसर्ट र बोकाको टाउकोसहितको कटाउटमा केही युवालाई प्रस्तुत गर्दै कार्यक्रम स्थलसम्म बिबाहको शैलीमा पञ्चे बाजासहित पुर्याइएको थियो ।
कार्यक्रममा बाबुल गिरी, महेश काफ्ले, अस्मिता अधिकारी लगायतका गायक–गायिकाले फिल्मका हिट गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू आसिफ शाह, गरिमा शर्मा, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, समापिका गौतम, निर्देशक सिमोस सुनुवार, लेखक प्रदीप भारद्वाज र निर्माता सन्तोष गौतमको उपस्थिति थियो ।
यो कार्यक्रमले फिल्मको प्रचारमा ठूलो फाइदा पुग्ने निर्माणपक्षको भनाई छ । यो फिल्मले ग्रामीण जीवनमा हराउँदै गएको परम्परालाई प्रस्तुत गर्ने निर्माणपक्षको भनाई छ ।
यो फिल्ममा प्रदीप भारद्वाजको लेखन, हरि हुमागाँइको छायांकन निर्देशन, उत्तम हुमागाँइको छायांकन र सुनिल शिवभक्तीको सम्पादन छ ।