जेठको ९ गतेबाट रिलिजमा आएको फिल्म ‘नरसिंहाः अवतार’ले राम्रो व्यापार गरिरहँदा यसका नायक राज कटुवालको चर्चा पनि चुलिएको छ । फिल्म रिलिज भएसँगै देश दौडाहामा रहेका राज दर्शकहरुबाट पाएको मायाले आफू निकै खुशी भएको बताउँछन् ।
काठमाडौंको एफक्यूब हलमा पुग्दा राजलाई भेटेर युवती फ्यान धरधरी रोए । यो दृश्य अहिले सामाजिक संजालमा समेत चर्चामा छ ।
युवतीहरूले राजको लुक्स, एक्सन र क्लाइमेक्सको दृश्यले छोएको बताएका थिए । क्लाइमेक्स राजले भोगेको पीडा देखेर युवतीहरूको मन छोएको थियो । उनै, राजलाई हलमा भेट्न पाउँदा युवतीहरूले मन सम्हाल्न सकेनन् ।
यता, धनगढीमा केही दिन अगाडि पुगेका राजलाई दर्शकले जुरुक्कै उचालेका थिए । नेपाली फिल्मका दर्शकहरुबाट पाएको माया र साथले राज उत्साहित छन् । उनले भने–‘म त निकै नै खुशी छु । दर्शकहरुले यति धेरै प्रेम दिनुहुन्छ जस्तो लागेको नै थिएन । एउटा कलाकारले प्राप्त गर्ने भनेको नै माया हो । यही माया मैले पाएको छु ।’
यो फिल्मका लागि राजले निकै मिहिनेत समेत गरेका थिए । सोही मिहिनेतको प्रतिफल अहिले उनले पाइरहेका छन् ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, राज कटुवाल, सनिषा भट्टराई, नीति शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, नीर शाह, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, दीपक प्रसाद ढकालको लगानी छ ।