अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२ औँ संस्करण बुधबारदेखि सुरु भएको छ । किम्फ फाउन्डेसनद्वारा आयोजित महोत्सव ठमेलस्थित क्यूएफएक्स छाया सेन्टर, एस्ट्रेक पार्क र जिएए हलमा आयोजना भएको हो ।
१८ गते आइतबारसम्म चल्ने किम्फमा यो पटक ३० देशका ६५ भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् । किम्फले अन्तर्राष्ट्रिय छनोटमा संसारभर प्रशंसा बटुल्न सफल भएका चलचित्रहरू विशेष गरी नेपाली दर्शकका लागि ल्याएको छ । त्यससँगसँगै नेपाली चलचित्रहरूको छनोटमा स्वदेशी प्रतिभाले बनाएका चलचित्रहरू प्रदर्शन हुनेछन् जसले समकालीन नेपालको कथा देखाएको छ ।
यसपालिको चलचित्र र कार्यक्रमहरू मार्फत नेपाली दर्शकहरूलाई मनोरञ्जन गराउनको साथसाथै नेपाली समाजलाई असर पार्ने विषयहरूमा संवाद हुने आयोजक किम्फ फाउन्डेसनका अध्यक्ष रम्यता लिम्बू बताउँछिन् ।
नेपालमै पहिलो फटक प्रदर्शन हुन लागेको बिट्विन द माउन्टेन एण्ड द स्काइ नामक डकुमेन्ट्रीको प्रदर्शनीसँगै किम्फ सुरु हुनेछ । जेरेमी पावर रेगिम्बलद्वारा निर्देशित यस डकुमेन्ट्री फिल्मले सिएनएन हिरो जितेकी समाजसेवी म्यागी डोएनको व्यक्तिगत जीवनलाई नजिकबाट देखाउँछ ।
नेपाल–चीन मित्रताको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा किम्फले सिजाङ्ग प्यानोरमामा चलचित्रहरू प्रदर्शन गर्दैछ जसले नेपाल र चीनको भाषिक र सांस्कृतिक भिन्नता भए पनि दुई देशबिचको समानता झल्काउनेछ ।
यसपटकको संस्करणमा निर्णायक मण्डलका रूपमा चलचित्र र टेलिश्रृङ्खला निर्देशकहरू नवीन सुब्बा (नेपाल), मार्टिन हेसेनोह्रल (अस्ट्रिया), यिङ्की चेन (चीन) सँगसँगै पत्रकारिता र सञ्चार प्राध्यापक छुन झान र चलचित्र प्रोग्रामर जिना ली (दक्षिण कोरिया) हुन् । निर्णायकमण्डलले अन्तर्राष्ट्रिय श्रेणीमा रहेका उत्कृष्ट आख्यान (४ छनोट), उत्कृष्ट वृत्तचित्र (१४ छनोट), उत्कृष्ट छोटो आख्यान (११ छनोट) र उत्कृष्ट छोटो वृत्तचित्र (१३ छनोट) रोज्ने छन् ।
त्यस्तै नेपाली चलचित्र मध्ये उत्कृष्ट वृत्तचित्र (६ छनोट) र उत्कृष्ट आख्यान (११ छनोट) चयन गर्ने जिम्मेवारी पनि निर्णायक मण्डलमा छ । अन्तर्राष्ट्रिय श्रेणीमा उत्कृष्ट वृत्तचित्रको लागि १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट छोटो वृत्तचित्रका लागि १ हजार अमेरिकी डलर, उत्कृष्ट आख्यानको लागि १ हजार ५ सय अमेरिकी डलर, उत्कृष्ट छोटो आख्यानको लागि १ हजार अमेरिकी डलर, उत्कृष्ट माउन्टेन र एडभेन्टर्सका लागि १ हजार अमेरिकी डलर तथा उत्कृष्ट इसिमोड पर्वतीय चलचित्रलाई १ हजार अमेरिकी डलर पुरस्कृत गरिनेछ ।
नेपाली चलचित्र मध्ये उत्कृष्ट वृत्तचित्र, उत्कृष्ट आख्यान र दर्शकहरूले सर्वाधिक रुचाएको चलचित्रलाई सबैलाई एक लाख रुपियाँ पुरस्कार दिइनेछ । यो वर्ष केयू उदीयमान चलचित्रकर्मीलाई पनि १ हजार अमेरिकी डलर दिइनेछ ।
यही संस्करणमा किम्फले पहिलो पल्ट काठमाडौं डक ल्याब कार्यशाला पनि सुरु गर्ने भएको छ । दक्षिण एसियाली क्षेत्रका प्रतिभालाई ठाउँ दिन बनाइएको यो कार्यशाला १०–१४ जेठमा सञ्चालन हुनेछ।
यही कार्यशालामा छनोट भएका नौ दक्षिण एसियाली सहभागीहरूलाई पाकिस्तानी चलचित्रकर्मी अनम अब्बास, भूटानी निर्देशक अरुण भट्टराई र भारतीय चलचित्रकर्मी रिन्टु थोमसद्वारा प्रशिक्षण दिइनेछ ।
त्यही सिकाइलाई प्रयोग गर्दै सहभागीले किम्फमा आफ्नो वृत्तचित्रको बारेमा दर्शकसामु प्रस्तुत गर्नेछन् । उत्कृष्ट तीन सहभागीलाई नेपाल चलचित्र विकास बोर्ड, किम्फ फाउण्डेसन र नेपाल फिल्म इनिसिएटिभबाट कुल ४ हजार ५ सय अमेरिकी डलर दिइनेछ ।
त्यस्तै कथाहरू र ब्रिटिस काउन्सिलद्वारा संयुक्त आयोजना गरिएको कट.कथा कार्यशालाबाट पनि महिला निर्देशकहरूले आफ्नो छोटो वृत्तचित्रको बारेमा प्रस्तुत गर्नेछन् । त्यस्तै निकोन युवा फोटोग्राफी र फिल्ममेकिङ कार्यशाला पनि हुनेछ । यससँगै भिआर र तस्वीर प्रदर्शनी पनि ठमेलस्थित कला सलोनमा हुनेछ ।
किम्फ इटालीको टुरिन शहरमा मुख्यालय रहेको इन्टरन्यासनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ)को सदस्य हो ।