चलचित्र ‘नरसिंहाः अवतार’को विदेशी बजारमा माग चुलिएको छ । यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको माग अझै बढेको हो। 


निर्देशक भट्टराईले विदेशबाट चलचित्रको माग उच्च भएको भन्दै विभिन्न देशका लागि कुराकानी भइरहेको बताए । यसैबिच, नेपाली चलचित्रका लागि सबैभन्दा ठूलो बजार मानिएको अष्ट्रेलियामा यसको प्रदर्शन अधिकार विक्री भएको छ । 


जेठको ९ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रको अष्ट्रेलिया विक्री अधिकार बीआई इभेन्ट्सले खरिद गरेको हो । यो चलचित्र कति रकममा अष्ट्रेलियामा रहेको बीआई इभेन्ट्सले खरिद गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन । 


‘महानायक राजेश हमालको क्रेज र चलचित्रको चर्चा अष्ट्रेलियामा खुबै छ । यसैले, दर्शकहरुको मागलाई ध्यानमा राखेर हामीले यो चलचित्रको अष्ट्रेलिया अधिकार खरिद गरेका हौं । आशा छ, यो चलचित्रले अष्ट्रेलियाका दर्शकहरुको मन जित्नेछ ।’ बीआई इभेन्ट्सकी वर्षा इटानीले भनिन्। 


इटाआनॆका अनुसार, यो चलचित्र नेपालमा रिलिज भएको केही समयमै अष्ट्रेलियामा रिलिज हुनेछ । नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको हो। 


निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ ।