काठमाडौं— गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा दिएका छन् । आइतबार साँझ पौडेलले अर्थमन्त्री तथा छनोट समितिका संयोजक विष्णु पौडेलमार्फत मन्त्रिपरिषद् समक्ष राजीनामा बुझाएको अर्थमन्त्रीका सल्लाहकार भुवन केसीले जानकारी दिए ।
नेपाली काँग्रेसले पौडेललाई आगामी गभर्नरको रुपमा अघि सारेको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटमा देउवाले पौडेललाई गभर्नरको रुपमा नियुक्त गर्न प्रस्ताव गरेका थिए ।
राजिनामा दिनुको कारण यस्तोः
पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएपछि पौडेलले सिफारिस समितिबाट राजीनामा दिएका हुन्। यसअघि सत्तागठबन्धन दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो।
भट्टको नाममा प्रधानमन्त्री ओली सहमत हुन सकेनन्। त्यसका लागि उनले डेपुटी गभर्नर नीलम ढुंगानालाई अघि सारेपछि समस्या बल्झिएको थियो। यसपछि कांग्रेसले पौडेललाई गभर्नरको नयाँ उम्मेदवारको रूपमा अघि सारेको हो। गभर्नर हुने अवस्था आएपछि पौडेलले सिफारिस समितिका अध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई आइतबार राजीनामा बुझाएका हुन्।
समितिमा अध्यक्षमा अर्थमन्त्री पौडेल र सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र विश्व पौडेल सदस्य थिए। यसअघि पनि राष्ट्रबैंकका पूर्व गभर्नर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएका थिए।
पौडेल अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि उपाधि प्राप्त पौडेल योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । उनी काठमाडौँ विश्व विद्याविद्यायलका प्राध्यापक हुन् । उनीसँग अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ ।
के छ विश्व पौडेलमा खास ?
उनी अनुभवी अर्थविद् हुन् । योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । साथै विदेशी संस्था आईएलओका पूर्व आर्थिक सल्लाहकार हुन् । अर्थ मन्त्रालयका पनि पूर्व सल्लाहकार हुन् । साथै उनी प्राध्यापक हुन् ।
उनलाई कांग्रेसी कोटाबाटै २०७८ साउनमा योजना आयोगको उपाध्यक्ष बनाइएको थियो । कांग्रेसले उनलाई कहीँ कतैबाट पनि गुमाउन नचाहने भएकाले ०७९ को प्रतिनिधि सभा निर्वाचनमा चितवनबाट टिकटसमेत दिएको थियो । उनी पराजित भए । उनी कांग्रेसको उम्मेदवार भए पनि कांग्रेसको कुनै पनि समितिमा बसेर काम भने गरेका छैनन् ।
पार्टीले स्वतन्त्र व्यक्तिलाईसमेत टिकट दिन सक्ने भएकाले पनि गभर्नर बन्न उनलाई कुनै ऐनले नरोक्ने कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । उनले भने, ‘जुनसुकै पार्टीले कुनै विषयको एक्सपर्टलाई टिकट दिन सक्छ । त्यो सामान्य हो । डा पौडेल गभर्नर बन्नका लागि कांग्रेसले दिएको टिकटले रोक्छ भन्ने मलाई लाग्दैन ।
उनको काम मुलुकलाई कसरी आर्थिक चलायमान बनाउन सकिन्छ भन्ने हो । त्यसैले उनले अर्थ मन्त्रालयमा आउने जो सुकै दलका मन्त्रीलाई पनि सघाउँदै आएको बुझिएको छ । अहिलेको सरकार कांग्रेस र एमालेको छ । प्रायः अर्थमन्त्री र गभर्नरबीच तालमेल नमिल्दा आर्थिक सूचकांकहरु तलमाथि पर्दै आएका छन् । तर विश्व पौडेल गभर्नर हुँदा एमालेलाई कुनै फरक नपर्ने स्रोत बताउँछ । किनकि मन्त्री पौडेललेसमेत विज्ञ पौडेलबाट सुझाव लिइरहेका हुन्छन् ।
विश्व पौडेलले देशको आर्थिक उन्नतिका लागि जोसुकैलाई पनि सही सुझाव र सल्लाह दिने भएकाले भोलिका दिनमा अन्य दलका अर्थमन्त्री हुँदासमेत सहजीकरणमा सजिलो हुने उनी निकटकाहरु बताउँछन् ।