काठमाडौं— हालै अमेरिकी पपस्टार लेडी गागाले ब्राजिलमा फ्रि कन्सर्ट गरेकी थिइन् । रियो द जेनरियोको कोपाकाबाना तटमा भएको सो कन्सर्टको आयोजना २० लाखभन्दा धेरै दर्शक आएको खबर आएको थियो ।
यसैबीच उक्त कन्सर्टमा बम प्रहार गर्ने प्रयास रियोको प्रहरीले असफल तुल्याएको खबर आएको छ । बम हान्ने योजना बनाउने व्यक्ति र एक किशोरी पक्राउ परेको प्रहरीले भनेको छ ।
आफूहरूले कन्सर्ट सकिएपछि भोलिपल्ट बिहान मात्रै खबरहरूबाट बमको खतराबारे थाहा पाएको गागाको टिमले भनेको छ । आक्रमणकारी समूहले खासगरी बालबालिका, किशोर किशोरी र एलजीबीटीक्यू प्लस समुदायलाई लक्षित बनाएको प्रहरीको भनाइ छ ।
यसका मास्टरमाइन्डलाई बन्दुकको साथमा रियो ग्रान्डे दो सुल राज्यबाट समातेको प्रहरीले बताएको छ । संदिग्धहरूले आफूलाई लेडी गागाको फ्यान बताएको प्रहरीले भनेको छ । घटनाको सम्बन्धमा प्रहरीले कयौं राज्यमा छापा मारेर विद्युतीय उपकरण र अन्य सामान जफत गरेको छ ।






































