काठमाडौं— सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’ को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार रातिको ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए।
कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।
विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे । विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गरेका छन् । जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै पाण्डेले आफ्नो जित फरक क्षमता भएकाहरूको जित भएको बताएका छन् । ‘फरक क्षमता भएकाहरू पनि गायनमा उत्कृष्ट हुनसक्छन् भन्ने प्रमाणित भएको छ’ उनले भने ।