काठमाडौं— यूईएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब इन्टर मिलानविरुद्ध रोकिएको छ । बुधबार राति घरेलु मैदानमा बार्सिलोनाले इटालियन क्लबविरुद्ध ३–३ को संघर्षपूर्ण बराबरी खेलेको हो ।

बार्सिलोनाका लामिन यमल र फेरान टोरेसले गोल गरे । स्पेनिस क्लबले अर्को एक गोल भने इन्टरका खेलाडीबाट आत्मघाती उपहार पाएको थियो । इन्टरका डेन्जेल डम्फ्रिजले दुई र मार्कुस थुरमले एक गोल थपे ।

खेलको पहिलो मिनेटमै थुरमको गोलमा इन्टरले अग्रता बनाएको थियो । २१औँ मिनेटमा डम्फ्रिजले अग्रता दोब्बर बनाए । २४औँ मिनेटमा यमलले गोल गर्दै इन्टरको अग्रतालाई २–१ मा झारे । ३८औँ मिनेटमा टोरेसले गोल गरेपछि पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो ।

६३औँ मिनेटमा डम्फ्रिजले गोल गर्दै इन्टरलाई पुनः ३–२ को अग्रतामा राखे । इन्टरको यो अग्रता पनि लामो समय टिक्न सकेन । त्यसको दुई मिनेटपछि नै इन्टरकै खेलाडी यान सोमरबाट भएको आत्मघाती गोलबाट बार्सिलोना खेलमा फर्कियो ।

अब यी दुई टिमबीचको दोस्रो लेग मे ७ मा इन्टरको मैदान सान सिरोमा हुनेछ ।