काठमाडौं । आन्दोलनरत् शिक्षक महासंघसँग सरकारको सहमतिपछि २९ दिनदेखि ठप्प शैक्षिक गतिविधि खुलेको छ ।

योसँगै यही वैशाख २१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा पनि निर्धारित मितिमा सञ्चालन हुने भएको छ ।यसअघि वैशाख ११ देखि परीक्षा तय भएकोमा शिक्षकको सडक आन्दोलनको असहज परिस्थितिको कारण देखाउँदै १० दिन पर सारिएको थियो ।

९ बुँदे सहमतिलाई मन्त्रिपरिषद्ले पारित गरेसँगै शिक्षक महासंघले मन्त्रिपरिषद्ले आफूहरूका केही माग सम्बोधन गरेको र यही असार १५ भित्रै ऐन पारित हुने प्रतिवद्धता आएकाले समयमै ऐन आउने विश्वाससहित आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षासम्बन्धी सबै काम गर्न/गराउन अनुरोध गरेको छ ।