काठमाडौं— काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका संस्थागत (निजी) विद्यालयहरूलाई जेठको पहिलो सातासम्म छात्रवृत्तिको विवरण तय गर्न निर्देशन दिएको छ । मंगलबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै छात्रवृत्तिको विवरण तय गर्न निर्देशन दिएको हो ।
कक्षा १ देखि १० सम्मका जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा शहीद परिवारका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिको व्यवस्था गर्न विद्यालयहरूलाई सूचनामार्फत भनिएको छ।
निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०५८ र काठमाडौं महानगर शिक्षा ऐन, २०६८ अनुसार संस्थागत विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान छ ।
महानगरले छात्रवृत्तिका लागि विद्यालयस्तरमै समिति गठन गर्न भनिएको छ । सो समितिमा वडा अध्यक्ष (वा तोकिएको प्रतिनिधि), विद्यालयका प्रधानाध्यापक, महानगरको शिक्षा निरीक्षक तथा विद्यालय व्यवस्थापन समितिका एक अभिभावक प्रतिनिधि रहनुपर्नेछ ।
छात्रवृत्तिको विवरण महानगरको वेबसाइट datacollection.kathmandu.gov.np मार्फत पठाउन भनिएको छ ।
साथै विद्यालयहरूले सूचना पाटीमा छात्रवृत्तिको सूचना टाँस गर्न र इच्छुक विद्यार्थी तथा अभिभावकलाई आवेदन दिन सक्ने व्यवस्था गर्न महानगरले भनेको छ ।