काठमाडौं— नेपाल सरकार र आन्दोलनरत शिक्षकहरूबिच शनिबार वार्ता भएको छ । नयाँ शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त भएपछिको यो पहिलो वार्ता हो
सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आज शिक्षकहरूको माग र आन्दोलनका बारे शिक्षामन्त्रीलाई जानकारी गराउने काम भएको बताए । उनले यसबारे थप वार्ता र छलफल गर्ने सहमति भएको बताए पनि अर्को वार्ताको मिति भने तय नभएको जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै शुक्रवार साँझ नै शिक्षकका केही प्रतिनिधिहरू सिंहदरबार पुगेका थिए । तर सरकारले बनाएको वार्ता टोलीप्रति असहमति जनाउँदै गेटबाटै बाहिरिएका थिए ।
शनिबार भने बिहानै मन्त्रालयमा शिक्षक महासंघका प्रतिनिधिहरू पुगेका थिए । गत वर्षको चैत्र २५ गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गर्दै आएका छन् ।
उनीहरूले सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म विद्यालय आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन् ।