काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति विहीन भएको छ । प्रा.डा. केशरजंग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि त्रिवि उपकुलपति विहीन भएको हो। बरालले १५ चैतमा राजीनामा दिएका थिए ।
उनको राजीनामा बिहीबार प्रधानमन्त्री एवं कुलपति केपी ओलीले स्वीकृत गरे । बरालको राजीनामा स्वीकृत भएपनि निमित्त उपकुलपति तोकिएको छैन।

त्रिवि नियम अनुसार तीन महिनासम्म रेक्टरलाई निमित्त दिने सकिने छ ।
प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यका अनुसार बरालको राजीनामा स्वीकृत भए पनि स्वीकृत भएको पत्र प्रा। डा। बरालले बुझ्न बाँकी भएकाले निमित्त नतोकिएको हो । राजीनामा स्वीकृत भएको पत्र मेलबाट पठाउन बरालले भनेका छन् । ‘म पत्र बुझ्न आउँदिनँ । मेलबाट पठाउन भनेको छु,’ बरालले भने ।
चार वर्षको कार्यकाल भए पनि बरालले १३ महिनामै राजीनामा दिएर पोखरा गएका छन् ।
त्रिविमा उपकुलपति नहुँदा प्रशासनिक काम रोकिएको छ । उपकुलपति नभएपछि प्रशासनिक काम रोकिएको कर्मचारीहरू बताउँछन् ।
बरालले नै नियुक्तिको लागि सिफारिस गरेका रेक्टर प्रा. डा. खड्ग केसी र रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजाल छन् । बरालको राजीनामा पछि केसी र रिजाललाई पनि राजीनामा दिन दबाब परेको छ ।
कुलपति ओलीले निमित्त तोकेमा रेक्टर केसीले जिम्मेवार पाउने छन् ।