काठमाडौं— संसद्को शिक्षा समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुटेको छ ।

बुधबार बिहान ११ बजेदेखि बसेको शिक्षा उपसमितिको बैठकमा परिच्छेद ४ को दफा २८ देखि ३८ दफासम्ममा सहमति जुटेको समिति सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

योसँगै विधेयकको दफा ३८ सम्म सहमति जुटेको हो । १६३ दफा रहेको विधेयकका ३८ दफामा सहमति जुटेको उनको भनाइ छ । 

बिहानदेखि परिच्छेद ४ का सबै दफामा छलफल भएर सहमति जुटेको चौधरीले बताए । थप दफामा छलफल गर्न भोली दिउँसो १२ बजेका लागि उपसमितिको बैठक बोलाईएको छ । 

शिक्षा समितिले विधेयकमाथि सहमति जुटाउन नेकपा एमाले सांसद् छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । 

उपसमितिले फास्ट ट्र्याकमा छलफल गरेर सहमति जुटाउने प्रयास भइरहेको जनाएको छ । विवादित विषयमा उच्च तहमा सहमति जुटाउने भन्दै ति बाहेकका अन्य विषयमा सहमति जुटाउँदै आएको हो ।