काठमाडौं । फिल्म ‘कर्मा’को ट्रेलर ट्रेन्डिङमा आएको छ । नेपालसहित विभिन्न देशमा ‘कर्मा’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको हो ।
ठूलो नेपाली डायस्पोरा रहेका देश कतार, कोरिया र जापानमा ‘कर्मा’को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको छ । नेपालमा मुभी सेक्सनको छैटौं स्थानमा छ ।

बिहीबार सार्वजनिक ‘कर्मा’को ट्रेलरको सामाजिक सञ्जालमा उत्कृष्ट रहेको प्रतिक्रिया आइरहेको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत अटाएका छन् ।
सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष युवालाई कसरी अपराधी बनाउँछ भन्ने प्रष्ट पारिएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीमा पुग्छ भन्ने ट्रेलरमा देख्न सकिन्छ ।
विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भनेका छन् ।
‘कर्मा’मा विपीन, उपासना मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।
‘कर्मा’ यही चैत २९ गते रिलिज हुँदै छ ।