काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आज बिहान फिल्मको शुभमुहूर्त गरिएको हो ।
बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए ।

सोमबारबाट फिल्मको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ । हिमाल न्यौपानेको निर्देशन रहने फिल्ममा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ ।
निर्माण टिमका अनुसार सोमबार काभ्रेपलान्चोकको पनौतीबाट फिल्मको छायांकन सुरु हुनेछ । पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ ।
फिल्मले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । फिल्मले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ ।
निर्देशक न्यौपानेको यो डेव्यु निर्देशन हो । यो फिल्मको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । पेपरक्लिप प्रालिको निर्माण रहने फिल्मका विमल न्यौपाने निर्माता हुन् ।
फिल्मका कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन् ।