काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘वसन्त’को माउथ पब्लिसिटी राम्रो भइरहेको निर्देशक तथा अभिनेता प्रकाश सपूतले बताएका छन् । दर्शकको प्रतिक्रिया बुझ्न हल पुगेका निर्देशक सपुतलाई दर्शकले फिल्मको माउथ पब्लिसिटी राम्रो सुनेर हल पुग्दा कथामा कनेक्ट भएको दर्शक प्रतिक्रिया पाउँदा खुशी लागेको सुनाए ।
दर्शकले फिल्मको विषय बाहिर आएजस्तो नभएको बताएका छन् । ‘वसन्तले राजनीतिक विषय उठान गरेको छ, कुनै पार्टीलाई सपोर्ट गरेको हो कि भन्ने कुरा आइरहेको छ,’ फिल्म हेरेपछि एक दर्शकले भने, ‘राजनीतिक विषय छैन । सामाजिक कथावस्तु छ । शंका गर्ने ठाउँ छैन । ढुक्कले सिनेमा हेर्न आए हुन्छ ।’

नेपाली समाजका कथाव्यथा के छन् भनेर उजागर गर्ने काम ‘वसन्त’ले गरेको भन्दै दर्शकले फिल्म चेतनामुलक र सन्देशमुलक रहेको बताएका हुन् । दर्शकले नै सबैलाई फिल्म हेरिदिन पनि आग्रह गरेका छन् । ‘स्टाटिङ र इन्डिङ एकदम राम्रो छ । सोचेभन्दा पनि राम्रो छ,’ एक दर्शक भन्छन्, ‘अभिनय र निर्देशन दुवै राम्रो छ । फेरि पटक पटक यस्तै फिल्म हेर्न पाइयोस् । बाहिर राजनीतिक कन्ट्रोभर्सी भइरहेको छ, फिल्म त्यस्तो छैन । त्यसैले त्यस्तो नहोस् ।’
सामाजिक कथाबस्तु उठान गरेको फिल्म ‘वसन्त’ राम्रो रहेको भन्दै सबैले हेर्नुपर्नेमा दर्शकले बताएका छन् । ‘नेपाली समाजको कथा छ । वास्तविक कथा छ । यो फिल्म चल्नेवाला छ,’ फिल्म हेरेपछि एक दर्शकले प्रतिक्रिया दिँदै भने, ‘गाउँको कथा राम्रोसँग उठाएको फिल्म राम्रो छ ।’
समाजमा घटेका घटनाहरू रहेको फिल्म राम्रो रहेको बताएका दर्शकले नै हेरिदिन आग्रह गरेका छन् । धेरै विषय समावेश गरेकाले कुनै घटनाले कसैलाई र कसैलाई कुनै घटनाले छोइरहेको निर्देशक सपूतले बताएका छन् । आफूले क्रान्ति र आन्दोलन भन्दा पनि ‘वसन्त’ मार्फत नेपाली समाज यस्तो अवस्थाबाट गुज्रिँदै आएको भनेर देखाउन खोजेको उनले बताए ।
फिल्ममा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् ।