काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म ‘हर्ष’को छायांकन पुरा भएको छ । डेब्यु निर्देशक एकता पौडेलले फिल्मको सम्पुर्ण छायांकन ३५ औं दिनमा प्याकअप भएको बताइन् । उनले ४० दिनको सेड्युलमा छायांकनमा निस्के पनि निर्माण टिमको उत्साहपुर्ण कामले सेड्युल भन्दा ५ दिन अगावै छायांकन सकिएको बताइन् ।
निर्देशक पौडेलका अनुसार फिल्मको सम्पुर्ण छायांकन चितवनमा नै गरिएको छ । फिल्ममा ५ गीत समावेश गरिएको र ती सवै गीतसहितको छायांकन ३५ दिनमा सकिएको भन्दै आफु र आफ्नो टिमले उत्कृष्ट दिने प्रयास रहेको बताइन् ।

फिल्ममा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको अभिनय छ ।
डेब्यु निर्देशक पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा फिल्महरु बनाएकी छन् ।
पारिवारिक सामाजिक कथा पस्किने फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । फिल्मलाई आलोक शुक्लाले खिच्नेछन् भने संगीत वसन्त सापकोटा तथा एलिश कार्कीको रहनेछ । लोकेश बज्राचार्यले सम्पादन गर्ने फिल्ममा सुनिल क्षेत्रीले कोरियोग्राफी रहेको छ ।
ई–प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल (चितवन) तथा कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् ।